
नेपाली संगीतको अन्तर्राष्ट्रिय स्तरमा जर्गेना गर्ने योजनासहित डीजीटेन्मेन्ट कम्पनीले सेलरोटी डटकम सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपाली गीतको सीआरबीटीलाई भारतका ८ वटा दूरसञ्चार कम्पनीमार्फत डाउनलोड गर्ने व्यवस्था मिलाएको जनाएको छ ।कम्पनीका प्रबन्धक निरञ्जन रेग्मीले वेबसाइटमा पूर्ण सांगीतिक सामग्रीका बारेमा जानकारी राखिएको बताए । कम्पनीले नेपाली डायस्पोरामा ठूलो जमात रहेकाले उनीहरूको पहुँचका लागि सांगीतिक साइट सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले भारतका टाटा, एयरटेल, रिलायन्ससहित आठवटा कम्पनीका फोन प्रयोगकर्ताले नेपाली सीआरबीटी डाउनलोड गर्न सक्ने व्यवस्था मिलाएको छ । त्यसबाट प्राप्त हुने रोयल्टी सम्बन्धित कम्पनी र गायक–गायिकालाई उपलब्ध गराइने रेग्मीले जानकारी दिए । कम्पनीले अब छिट्टै युरोप, अमेरिका, मलेसिया, सिंगापुरलगायतका देशका दूरसञ्चार कम्पनीमार्फत त्यस किसिमको व्यवस्था मिलाउने जनाएको छ, साथै ‘आईट्युन्स’ अनलाइन सेवामा समेत नेपाली संगीत संग्रहित गरेर वैधानिक रूपमा नै गीत डाउनलोड गर्न सक्ने व्यवस्था मिलाएको छ ।
आईट्युन्समा अहिलेसम्म २ सय एल्बमका १ हजार ६ सयभन्दा धेरै गीत उपलब्ध रहेका छन् । यो संख्यालाई अझै वृद्धि गर्ने तयारी कम्पनीले गरिरहेको छ । कम्पनीले दैनिक करिब १० लाख भिजिटर रहेको अमरिकी सांगीतिक कम्पनीले सञ्चालन गरेको ‘न्यापस्टार’ अनलाइन सेवामा पनि नेपाली संगीत उपलब्ध गराएको उनले जानकारी दिए ।
सेलरोटीले सीआरबीटीका अतिरिक्त नेपाली संगीतक्षेत्रका समाचार र नेपाली गायक गायिका जीवनी पनि प्रस्तुत गर्दै आएको छ । साथै गायक–गायिकाका विभिन्न अवसरका तस्वीर पनि वेबमा राख्ने व्यवस्था मिलाएको छ । अहिलेसम्म ३ सयभन्दा धेरै गायक–गायिका जीवनी प्रस्तुत गरिसकेका छ ।
नेपालका करिब डेढ सय सांगीतिक कम्पनीसँग सहकार्य गर्दै नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिरहेको प्रबन्धक रेग्मीले बताए ।
कम्पनीले आम्दानीको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । यस वर्ष गायिका आनी छोइङ डोल्माले सञ्चालन गरेको ‘आमाको घर’ नामक गृहलाई सहयोग गर्ने भएको छ ।
Comments :
0 comments to “नेपाली संगीतको जगेर्नामा ‘सेलरोटी डटकम’”
Post a Comment