पाँच दिनसम्म मनाइने चाड तिहार एउटा ठूलो पर्व हो। तिहारलाई दीपावली तथा यमपञ्चकका नामले समेत चिनिन्छ। बत्तीको झिलिमिली हुने भएकाले दीपावली एवं पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको आराधना गरिने हुँदा यसलाई यमपञ्चक भनिएको हो। किंवदन्तीअनुसार सूर्यका छोराछोरी यमराज तथा यमुना दाजुबहिनी हुन्। यमुनाले दाजुलाई केही समय कामबाट विश्राम लिन आफूकहाँ आउन अनुरोध गरेकीले यमराज कार्तिक कृष्ण त्रयोदशीका दिन बहिनीकहाँ गए। बहिनीले दाजुको खुब सेवा गरिन्। यमराज यमुनाकहाँ कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसे। यसैलाई आधार मानेर तिहार मनाउन थालिएको हो। यसबाहेक तिहारसँग अन्य अनेकौं प्रसङ पनि जोडिएका छन्। तिहारका पाँचै दिन उत्तिकै महत्त्वपूर्ण हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष हर्षोल्लासपूर्वक मनाउने चलन छ।
प्रकृतिसँग निकट सम्बन्ध गाँस्ने यो पर्वमा हिजोआज अनेकौं विकृति पनि भित्रिएका छन्। यद्यपि नेपाली संस्कृतिमा तिहारको आफ्नै विशिष्ट महत्व छ। राणाकालमा त अझ पाँच दिनसम्म निर्बाध रूपमा टँुडीखेलमै जुवा खेलाइन्थ्यो। आजभोलि वैधानिक रूपमा नभए पनि जुवा उत्तिकै खेलिन्छ र खेलाइन्छ। यसमा अझ मद्यपान थपिएपछि त धेरै समस्या उत्पन्न भएका छन्। यति हुँदाहुँदै पनि तिहारको गरिमामय परम्परा भने अद्यपि कायमै छ।
काग तिहार
कार्तिक कृष्ण चतुर्दशी तिथि अर्थात् तिहारको पहिलो दिन काग तिहार पर्छ। यस दिन कागको पूजा गरिन्छ। कागलाई घिउभात आदि मीठा कुराहरू खान दिइन्छ। कागलाई भोजन दिँदा 'ऐन्द्र बारुण वायव्या याम्या वै नैऋतास्तथा। वायसाः प्रतिगृह्णन्तु मयादत्तमिमं बलिम्।।' अर्थात् पूर्व, पश्चिम, वायव्य, दक्षिण, नैऋत्य आदि दिशामा रहेका कागहरूले यो बलि ग्रहण गरून्। भन्ने मन्त्र पढिन्छ। कागलाई यमराजको दूत पनि मानिने भएकाले उसलाई सम्मान दिन कागको पूजा गर्ने धार्मिक विधान तयार पारिएको हो।
काग मानिसको हितकारी पन्छी हो। यसले अनेक प्रकारका फोहोर खाइदिएर वातावरण सफा राख्न सहयोग गर्छ। वातावरणीय सन्तुलनमा कागको ठूलो भूमिका हुन्छ। कागले आफूलाई नजिस्क्याए वा हानि हुने काम नगरे कसैको विगार गर्दैन। यो सार्है चलाख हुन्छ। भनिन्छ, कागसित असल र खराब पहिचान गर्ने सामथ्र्य हुन्छ। त्यसैले पनि काग पूजनीय छ। चाणक्य नीतिमा पनि बुद्धिमान् मानिसले कागसित पाँचवटा शिक्षा ग्रहण गर्नुपर्छ भनिएको छ। कागका सम्बन्धमा पुराणहरूमा अनेकौं गाथा छन्। तुलसीदासको रचना 'रामचरितमानस' मा काकभुसुण्डी नामक कागको अलौकिक वर्णन छ। परापूर्व कालदेखि नै आर्यहरूले कागलाई मित्र पन्छीका रूपमा स्वीकार गरेको पाइन्छ। दिशासूचक यन्त्र कम्पासको आविष्कार नभएको हुनाले प्राचीन सिन्धु, बाभेरु आदि स्थानका मानिसहरू समुद्रयात्रामा जाँदा कागलाई पनि साथै लान्थे। दिशा थाहा नपाएर अलमलिएको बेला उनीहरू कागलाई उडाइदिन्थे। कागहरू सधैं जमिनतर्फ उड्ने भएकाले उनीहरू कागको पछिपछि लाग्दै भूमिमा आइपुग्थे भन्ने अनुमान प्राचीन सभ्यताका अन्वेषकहरूले प्रस्तुत गरेका छन्।
कुकुर तिहार
तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर पूजा गरिन्छ। यस दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठामीठा कुरा खान दिइन्छ। कुकुरलाई खान दिँदा 'द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ। ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ।' अर्थात् वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु। तिमीहरू अहिंसक बन-भनिन्छ।
कुकुरलाई इमान्दार पशु मानिन्छ। मानिसले आफू जंगली अवस्थामै रहँदादेखि कुकुर पाल्न थालेको विश्वास गरिन्छ। सिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गरेर कुकुरले मानिसलाई साथ दिँदै आएको छ। यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन्। हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसङ्ग छन्। वेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ। यस्तै अर्को पौराणिक प्रसङ्गमा यिनका छाउराहरूलाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग छ। यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ। उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ। कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन मासको पात खाने चलन छ। लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसका सबै पाप नाश हुन्छन्। त्यसैगरी यस दिन सबै पाप नाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ। नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ।
लक्ष्मीपूजा
तिहारको चौथो दिन अर्थात् कार्तिक अमावस्याका दिन लक्ष्मीको पूजा हुन्छ। यो रात्रिलाई सुखरात्रि भनिन्छ। यस दिन बेलुका अष्टलक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई धनकी देवी मानिन्छ। समुद्रकी छोरी, विष्णुकी शक्ति लक्ष्मीलाई प्रसन्न पार्न यो रात दीपावली गर्ने तथा जुवा खेल्ने चलन छ। यस दिन परिवारका सबै सदस्य बसेर जुवा खेल्दा जसले जित्छ त्यो घरको वर्षभरिको आर्थिक क्रियाकलाप उसैको हातबाट गराउने चलन पनि छ। यस दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ। चन्द्रमा लक्ष्मीका सहोदर भाइ भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने कुरा पनि प्रसिद्ध छ।
आधुनिक समाजमा लक्ष्मी अर्थात् धन-सम्पत्तिको ठूलो महत्त्व छ। 'द्रव्येषु सर्वे वशाः।' अर्थात् सबै धनको अधीनमा हुन्छन् भनिएको छ। त्यसकारण धन प्राप्त गर्ने उद्देश्यले धनवान्देखि धनहीन सबैले यस दिन भक्तिपूर्वक लक्ष्मीको पूजा गर्छन्। यो रात लक्ष्मी आकाशमा विचरण गर्ने र आफ्ना भक्तहरूलाई ऐश्वर्य प्रदान गर्ने हुनाले मानिसहरू रातभर जाग्राम बस्न तम्सन्छन्। यो रात भैली खेल्ने चलन छ। पहिले महिलाहरूले मात्र भैली खेल्थे भने हिजोआज पुरुष पनि यसमा सामेल हुन थालेका छन्। अझ हिजोआज भैलोलाई माध्यम बनाएर विभिन्न क्लब तथा संस्थाहरूले चन्दासमेत उठाएको देखिन्छ।
गाईपूजा
तिहारको चौथो दिन अर्थात् कार्तिक शुक्ल परेवाका दिन गाईको पूजा हुन्छ। गाईलाई मानिसको दोस्रो माता मानिन्छ। गाईको दूध अत्यन्त पौष्टिक हुन्छ। बिरामीका लागि पनि उपयुक्त गाईको दूधबाट बन्ने दही, घिउ आदि पनि उत्तिकै पौष्टिक हुन्छन्। गाईको गहुँत तथा गोबर पनि उत्तिकै पवित्र मानिन्छ। शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइन्छ। पञ्चामृतमा पनि मह तथा सख्खरका अतिरिक्त अरू तीन चीज गाईकै दूध, दही तथा घिउ मिसाइन्छ। गाईको मलले माटोको र्ऊवरा शक्ति बढाउँछ त्यसैले पनि कृषकहरू गाई पाल्छन्। हिन्दू जीवन पद्धतिमा गाईको अभावमा दैनिक कार्यहरू चलाउन सकिँदैन। यसरी हरतरहले फाइदा दिने गाईप्रति कृतज्ञता ज्ञापन गर्न यो दिन गाईको पूजा गरिन्छ। पूजा गर्दा टीका तथा माला लगाउनुका अतिरिक्त चामलको पीठोको छाप बनाएर गाईको शरीरभरि लगाइदिने चलन छ। गाई तिहारको बेलुका देउसी खेलिन्छ।
गाईलाई लक्ष्मीकै स्वरूप मानिन्छ। गाईका शरीरका हरेक अङ्गमा विभिन्न देवीदेवताको वास हुन्छ भन्ने विश्वास गरिन्छ। गाईलाई अवध्य अर्थात् हिंसा गर्न नहुने पशु मानिन्छ। मान्यताअनुसार सूर्यको गो नामक मानव हितकारी किरण गाईको शरीरले सबैभन्दा बढी सोस्छ, त्यसैले यो पशुलाई गौ अथवा गाई भनिएको हो। गाईमार्फत् गो किरण उसका भक्तहरूमा प्रवाहित हुने भएकाले गाईको आराधना गर्नुपर्छ। हिन्दूहरूमा गोदान गर्नु सबैभन्दा ठूलो पुण्य हो तसर्थ उनीहरू हरेक कर्मकाण्डको सुरुमा गोदान गर्छन्।
गाई पूजाका दिन गोवर्द्धन पर्वत तथा बलि राजाको पनि पूजा हुन्छ। गोवर्द्धन पर्वत पूजाको प्रसङ्ग भगवान् कृष्णसित जोडिएको छ। गोपालहरूका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्याउने भएकाले पर्वतको प्रतिनिधि गोवर्द्धन पर्वतको पूजा गरिएको हुन सक्छ। गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोवर्द्धन पूजा गरिन्छ। त्यसैगरी भगवान् विष्णुका परम भक्त इन्द्रशत्रु राजा बलिको पूजा गरेर लक्ष्मीलाई खुसी तुल्याइन्छ। यस दिन गोरुको पनि पूजा गर्ने चलन छ।
भाइटीका
यो तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन हो। कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइदिन्छन्। यस दिन दिदीबहिनीले यम-यमुनासँगै यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक विधान छ। दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन्। सप्तरंगी टीकाका साथ दूबो, मखमली तथा सयपत्री र गोदावरीको माला लगाइदिन्छन्। यो अवसरमा ओखर फुटाइन्छ र दाजुभाइको दीर्घायुको कामना गरिन्छ। उनीहरूले टीका लगाइसकेपछि दाजुभाइलाई मिठाईं तथा मसलाको उपहार प्रदान गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन्। यस दिन भाइलाई लिन आएका यमदूतसित दिदीले अनेक बहाना बनाएको र भाइको काल टारेको प्रसङ्ग पनि गाँसिएको छ।
तिहार विशेष गरी दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध दरिलो बनाउने पर्व हो। हुन त तिहारमा अन्य विविध पक्ष पनि नजोडिएका होइनन् तर पनि यो चाड दाजुभाइ-दिदीबहिनीहरूबीच राम्रो सम्बन्ध कायम राख्ने विशेषता बोकेकाले जीवन्त बनेको छ। यसैगरी तिहार उज्यालो छर्ने प्रकाश पर्व तथा मिठाईंको पर्व पनि हो।
दिदीबहिनीलाई ढोग्नुको अर्थ
प्रेम एवं सद्भावनाका साथ अझ निकट सम्बन्ध स्थापित गर्न सम्मानले ठूलो भूमिका निर्वाह गर्छ। एकअर्काप्रतिको निःस्वार्थ सद्भाव एवं समर्पणले सम्बन्ध प्रगाढ हुँदै जान्छ। तिहार दाजुभाइ-दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ वा अझ निकट बनाउने पर्वका रूपमा परिचित छ। कतिपयले तिहारको टीकाको दिन दिदीबहिनीको चरणमा ढोग्दैनन् अन्य दिन मात्रै ढोग्छन् भने कतिपय दाजुभाइले दिदीबहिनीको चरणमा ढोग्ने चलन छ। जे होस् दिदीबहिनीको चरणमा ढोग्नु नेपालीका लागि नौलो कुरा होइन तर यसको अर्थ धेरैका लागि नौलो हुन सक्छ। दिदीबहिनीको चरणमा ढोग्नुको अर्थ के होला भन्ने जिज्ञासा मेटाउन यहाँ केही विद्वान्हरूको भनाइ उल्लेख गरिएको छ।
डावासुदेव कृष्ण शास्त्री
शिर भनेको ब्रह्मा स्थान हो। ज्ञान, विद्या, बुद्धि, विवेक एवं चेतनाको केन्द्र वा मुहान पनि शिर हो। दिदीबहिनी भनेका नारी शक्ति हुन्। जसलाई दुर्गा, लक्ष्मी, काली, कुमारी आदिका रूपमा पूजा गरिन्छ। यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू पनि रमाउँछन्। त्यसैले दिदीबहिनीहरूको चरणमा ढोगिन्छ। चरण भनेको साक्षात् गंगा, जमुना, सरस्वतीको निवास पनि हो। साक्षात् चरण पूजा लक्ष्मीनारायणको पूजा पनि हो। चरण पूजा गर्नु, शिर निहुराउनु, नमस्कार गर्नु, अभिवादन गर्नु शुभ मंगलका सूचक हुन्। जीवनमा शान्ति, प्रेम, सद्भाव एवं उन्नतिका लागि चरण स्पर्श गरिन्छ। शरीरमा एकप्रकारको चुम्बकीय तरंग निरन्तर चलायमान भैरहेको हुन्छ। उक्त तरंग सक्रिय बने मानिस क्रियाशील हुन्छ। मानिस निहुरिँदा शरीरका सबै अङ्ग गतिशील हुन्छन्। चरणमा शिर राख्न निहुरिँदा शरीरको सम्पूर्ण व्यायाम हुन्छ तथा मनका सम्पूर्ण अहंकार, क्रोध, दम्भ एवं लोभ नाश हुन्छन्। ढोगिनेको सकारात्मक ऊर्जा ढोग्ने मान्छेमा प्रवाहित हुन्छ, तरंगित हुन्छ। दाजुभाइमा यसले प्रेम, आत्मीयता एवं आत्मविश्वास बढाउँछ भने दिदीबहिनीमा सुख, शान्ति र समभावको विकास हुन्छ।
डा विष्णुप्रसाद दाहाल
दिदीबहिनीको चरणमा ढोग्ने चलन आदिकालदेखि चलेको हो जुन तीन-चारवटा पौराणिक कथामा आधारित छ। मनुस्मृतिमा यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू पनि रमाउँछन् भनिएको छ। सुभाषित रत्नभाण्डागारमा 'चतुणर्ामपि वणर्ानां दारारक्षतमा सदा' अर्थात् सबै वर्णका नारी जाति सधंै सुरक्षित छन् तथा 'जामयो यानि गेहानि शपन्त्य प्रतिपूजिता, तानि कृत्या हतानिव विनश्यन्ति समन्ततः। अर्थात् दिदीबहिनी, श्रीमती, छोरी र बुहारी जुन घरमा दुःखी भएर कचकच गरिरहन्छन् वा रुन्छन् त्यो घर मारण, उच्चाटन आदि वामतन्त्रद्वारा नासिएझैं धन, पशु, कुलसहित नष्ट भएर जान्छ भनिएको छ तसर्थ नारीलाई चरणमा ढोगेर खुसी पार्ने प्रयास गरिन्छ।
पौराणिक कथनअनुसार राजा अश्वपतिकी छोरी सावित्रीले आफ्ना श्रीमान् सत्यवान्लाई यमराजकहाँबाट फिर्ता ल्याएपछि उनले छोरी सावित्रीलाई चरणमा ढोगेका थिए। छोरीले यति ठूलो काम गर्न सक्छिन् भन्ने जानेर त्यही शक्तिका कारण उनीहरूलाई ढोग्न थालिएको हो। त्यस्तै हिमालय पर्वतकी छोरी पार्वतीको विलक्षण प्रतिभा देखेर पर्वतवासीहरूले छोरीलाई ढोग्ने चलन चलाएका हुन् भन्ने पनि छ। यसैगरी अर्को कथनअनुसार ब्रह्मा आफ्नी मानसपुत्री सरस्वतीप्रति आशक्त भए। त्यसपछि शिवद्वारा उनको एउटा शिर काटियो। यस्तो घटना घटेपछि भविष्यमा फेरि बाबुको छोरीप्रति कुदृष्टि नरहोस् भन्ने हेतुले छोरीको चरणमा ढोग्ने चलन चलेको हो। वास्तवमा छोरी घरकी शोभा हुन्। विवाहपछि अर्काको घर पठाइने भएकाले उनका लागि समर्पणको संस्कार आवश्यक हुन्छ। उनले विवाहपछि बालबालिकालाई जन्म दिनुपर्ने हुन्छ। विनम्रता एवं सहनशीलताको आदर्श प्रस्तुत नगरी उनले असल सन्तानलाई जन्म दिन सक्दिनन् तसर्थ अरूले विनम्रतापूर्वक चरणमा ढोगेर उनको सम्मान गर्ने र उनलाई खुसी पार्ने प्रयास गरिन्छ। यसो गर्दा उनले विनम्र बन्न सिक्छिन् भनेर चरणमा ढोग्ने चलन चलाइएको हो।
प्रगाढ सम्बन्धको प्रतीक माला र टीका
दसैंपछि अब तिहारले घर-आँगनमा पाइला टेकेको छ। तिहारको सुरुवातसँगै मानिसलाई एक किसिमको आनन्दको अनुभूति हुन्छ। मखमली र सयपत्रीको यौवनले रोमाञ्चित वातावरणमा रमाएका घरघरमा सेल रोटीको मीठो वासना चल्न थाल्छ। दाजुभाइका निम्ति उपहार तयार पार्न दिदीबहिनीलाई चटारो पर्छ। तिहारमा माला तथा टीकाको विशेष महत्त्व छ जसको अभावमा भाइटीका अधूरो हुन्छ।
तिहारमा दिदीबहिनीले दाजुभाइका लागि मखमली तथा सयपत्रीको माला गाँस्छन्। उनीहरू आफ्ना दाजुभाइको दीर्घायुको कामना मालासँगै गाँसेर दाजुभाइलाई पहिराउन आतुर हुन्छन्। एकएक थुँगा फूललाई मिलाएर एउटा माला तयार भएजस्तै मालाले दाजुभाइ तथा दिदीबहिनीको एकतालाई दर्शाउने आचार्य शालिकराम ढकाल बताउँछन्। उनका अनुसार तिहारमा विशेष गरी दूबो तथा मखमलीको मालाको महत्व हुन्छ। उनी भन्छन्-जसरी एउटा दूबो एक ठाउँमा रोपियो भने त्यो झाँगिएर आउँछ सोहीअनुरूप दिदी-भाइको सम्बन्ध पनि झाँगिएर जान्छ। मालाले दिदी-भाइबीचको अगाध स्नेह प्रदर्शन गर्छ। दूबो फैलिएसरह आपसी माया पनि फैलिएर आउने विश्वासका साथ दूबोको माला प्रयोग हुने बताउँछन्-ढकाल। त्यसैगरी मखमली फूल कहिल्यै नओइलाउने हुँदा दिदी-भाइको मधुर सम्बन्ध कहिल्यै नओइलाउने मखमलीजस्तै सधैं कायम रहोस् भनेर यो लगाइने ढकालको अनुभव छ। दिदी-भाइको सम्बन्ध युगयुग कायम रहोस् भनेर मखमलीको माला लगाइन्छ।
हिजोआज भाइटीकामा माला बनाउन दूबो तथा मखमली मात्र नभई सयपत्री तथा गोदावरी फूल पनि प्रयोग हुन थालेको छ। तिहारमा यस्ता मौसमी फूल प्रशस्त पाइने हँुदा यसको प्रयोग बढेको वुमन इन फ्लोरिकल्चरको अनुभव छ। अहिले तिहारलाई लक्षित गरेर दूबो तथा मखमलीबाहेक सयपत्री तथा गोदावरीका स्टाइलिस माला बजारमा आउन थालेका छन्। यसको विभिन्न स्टाइलले मानिसहरूलाई आकषिर्त गरेको छ। तिहारमा सयपत्री फूल मागअनुसार भारतबाट ल्याइन्छ भने दूबो र मखमलीको माला भने नेपालमै तयार पारिन्छ। यसबाहेक तिहारलाई भनेर मिक्स माला पनि बनाइन्छ। मिक्स माला रजनी गन्धा, मेरी गोल्ड, गुलाब आदि फूल मिसाएर बनाइन्छ। अहिले दूबोको मालामा सितारा, मोती आदि राख्ने चलन बढ्दो छ। यसमा मानिसको इच्छाअनुसार हल्का तथा भारी जरी राखिन्छ। यसबाट मानिसमा आएको परिवर्तनसँगै उनीहरूको परिवर्तित रुचिको झझल्को मिल्छ।
भाइटीकाका लागि अर्को अत्यावश्यक सामग्री टीका पनि हो। निधारमा दिदीबहिनीले लगाइदिएको सप्तरङ्गी टीकाले दाजुभाइको दीघार्युको कामना गरिरहेको हुन्छ। यसले यमराजबाट दाजुभाइको रक्षा गर्ने विश्वास गरिन्छ। आचार्य शालिकराम ढकालका अनुसार जसरी इन्द्रेनीले आफ्नो सात रंगबाट धर्तीलाई सुन्दर बनाउँछ त्यसरी नै दिदीबहिनीले सप्तरङ्गी टीकाले दाजुभाइको निधार सजाउँछन्। यसमा भएका सबै रंगले आफ्नै मौलिक विशेषता बोकेका छन्। कालो तथा हरियो रंगले सम्बन्धमा कुनै पनि खालको चिसोपन नआओस् भन्ने कामना गर्छन्। दाजुभाइ-दिदीबहिनी सँगै बस्दा आपसमा नकारात्मक भाव पनि आउन सक्छ। त्यसैले कुदृष्टिबाट बचाउन सातै रंगको प्रयोग भएको पाइन्छ। भाइटीकामा प्रयोग हुने रंगमध्ये सेतो पनि एक हो। सेतो रंग कञ्चनताको प्रतीक हो। यसले सम्बन्ध नधमिलियोस् भन्ने सन्देश दिन्छ। रातो रंग प्रगाढ सम्बन्ध कायम रहोस् भन्ने कामनासहित लगाइन्छ। त्यसैगरी पहेंलो रंग सुख-समृद्धिको कामनाका साथ लगाइन्छ। नीलो रंगले माया विशाल आकाश तथा समुद्रजस्तै गहिरो होस् भन्ने कामना गर्छ। यो पवित्र मायाको प्रतीक पनि हो। हामीले लगाउने सप्तरङ्गी टीकामा मायाको मिठास हुन्छ। यसले दिदी-भाइको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ।
फेरिएको समयसँगै अहिले भाइटीका लगाउँदा विभिन्न खालको स्टाइल दिने चलन छ। सप्तरङ्गी टीकाबाहेक यसलाई चम्किलो तथा आकर्षक बनाउन विभिन्न खालको रंग पनि प्रयोग गरिएको पाइन्छ। भाइटीकाका लागि सप्तरङ्गी टीका पूजा थालीमा तयार पारिन्छ। त्यसलाई हातको औंला, तुलसीको डाँठ वा सलाईको काँटीमा कपास बेरेर लगाइन्छ। पहेंलो रंगमा लामो रेखा कोरी त्यसमा अरू बाँकी रंग भरिन्छ। बाँकी रंग आफ्नो इच्छाअनुरूप लगाउने चलन पनि छ। यसका लागि सुरुमा यो रंग नै लगाउनुपर्छ भन्ने छैन। आफूले लगाउने टीका दाजुभाइलाई कस्तो आकारमा लगाइदिने हो त्यो आफूमा भर पर्छ। कसैले दाजुभाइको अनुहारको आकार हेरी सोहीअनुसार गोलो अथवा लामो आकारमा टीका लगाइदिएको पाइन्छ।
सुख-समृद्धिको प्रतीक रंगोली
पवित्रताको प्रतीकका रूपमा लक्ष्मीपूजामा कोरिने रंगोलीलेे आफ्नै पहिचान बोकेको छ। आचार्य शालिकराम ढकालका अनुसार लक्ष्मीपूजाको दिन बनाइने रंगोली शास्त्रअनुसार धनकी देवी लक्ष्मीलाई स्वागत गर्नका लागि हुन्छ। लक्ष्मीपूजाका दिन माता लक्ष्मी धर्तीमा आउँदा सबैको घरदैलो हेर्दै आउने र सफा घरमा जाने भएकीले त्यो दिन घर-आँगन सफा बनाई रेखा कोरिन्छ।
तिहारको आफ्नै महत्व छ। दिदी-भाइको आपसी सद्भाव एवं मायाको पर्व तिहारका पाँच दिनको छुट्टाछुट्टै विशेषता छ। काग पूजा, कुकुर पूजा, गाई पूजा, गोवर्धन पूजा तथा भाइटीकाले आ-आफ्नै महत्व दर्शाउँछन्। यसका साथै पाँच दिनमा गरिने हरेक तयारीको आफ्नै मौलिक विशेषता छ। यी पाँच दिन विभिन्न प्रतीकका रूपमा उभिएका छन्। यसमा पनि लक्ष्मीपूजाका दिन बनाइने रंगोलीको छुट्टै महत्व छ। पवित्रताको प्रतीकका रूपमा लक्ष्मीपूजामा कोरिने रंगोलीलेे आफ्नै पहिचान बोकेको छ। आचार्य शालिकराम ढकालका अनुसार लक्ष्मीपूजाको दिन बनाइने रंगोली शास्त्रअनुसार धनकी देवी लक्ष्मीलाई स्वागत गर्नका लागि हुन्छ। लक्ष्मीपूजाका दिन माता लक्ष्मी धर्तीमा आउँदा सबैको घरदैलो हेर्दै आउने र सफा घरमा जाने भएकीले त्यो दिन घर-आगँन सफा बनाई रेखा कोरिन्छ। यसले गर्दा माता लक्ष्मीले धनधान्यले भरिदिने जनविश्वास छ।
रंगोली बनाउँदा आफ्नै घरमा उत्पादन गरिएको चामलको पीठो प्रयोग गरिन्छ। त्यसमा केशर तथा अबिर पनि मिसाइन्छ। शंख, कमलको फूल, स्वस्तिक चिन्ह आदि रंगोलीका रूपमा कोरिएका हुन्छन्। भारतमा बहु प्रचलित रंगोलीले नेपालमा पनि विशेष स्थान बनाएको छ। दीपावलीका बेला बनाइने आकर्षक रंगोलीमा हामी सबै मोहित हुन्छौं। लक्ष्मीपूजाका दिन बनाइने रंगोलीले घरमा सुख-शान्ति तथा समृद्धि भित्र्याउने विश्वास गरिन्छ। यसमा टेकी धनकी देवी लक्ष्मी भित्रिने विश्वास पनि छ। घरको मुख्यद्वारमा बनाइने रेखामा माता लक्ष्मीको पाइला बनाइएको हुन्छ। यसको ग्याप डेढ भित्ताको हुनुपर्छ। ठाउँअनुसार विभिन्न नामले लोकपि्रय रंगोलीका बारेमा विभिन्न भनाइ प्रचलित छन्।
संस्कृत शब्दबाट आएको रंगोलीको अर्थ स्वागत हो। यसमा रंगको माध्यमबाट मौलिक कला प्रस्तुत हुन्छ। यसबाट घरमा आउने आगन्तुकहरूको स्वागत हुन्छ भन्दा फरक पर्दैन। त्यसैले यो घरको मुख्यद्वारमा बनाइन्छ। यसलाई गुडलकको प्रतीकका रूपमा पनि लिइन्छ।
अहिले नेपाली समाजमा पनि यसको महत्व बढ्दै गएको छ। तिहारको लक्ष्मीपूजाका दिन रंगोली बनाउँदा घरमा शुभ-लाभ हुने जनविश्वास छ। प्राचीन रंगोली विभिन्न रंग मिसाएर बनाइन्थ्यो। यो साधारणतया दुई डाइमेन्सल डिजाइनमा हुन्छ र तीन डाइमेन्सल आकारको आधुनिक रंगोली पनि प्रचलित छ। यसलाई हल्का हातले औंलाको माध्यमबाट रंग लिएर विभिन्न ज्योमेटि्रकल आकारमा बनाइन्छ। यसको बीचमा फूल राखी दियो बालिन्छ। अहिले विभिन्न कलरफूल रंगोली लोकपि्रय हुँदै गएका छन्। यसले खुसी तथा सुख दिने आमधारणा छ। रंगोलीमा रेखाका रूपमा कमलको फूल, पात, माछा तथा चराको आकार बनाइन्छ। त्यसैगरी यसमा गणेश तथा लक्ष्मीको चित्र पनि बनाइन्छ।
मुख्यतया रेखा सुख्खा तथा गिलो दुई प्रकारले बनाइन्छ। कस्तो खालको रेखा बनाउने हो आफूमा भर पर्ने कुरा हो। सुख्खा रंगोलीमा आफूलाई मन परेको आकार कोरी त्यसमा सुख्खा रंग तथा फूल हालेर सजाइन्छ। त्यसैगरी गिलो रंगोली रंग भिजाएर आफूले दिएको आकारभित्र रंग भरिन्छ। यसमा विभिन्न रंग भर्दा साह्रै आकर्षक देखिन्छ। यसमा बेलुकी पूजा गरी बीचमा दियो बालिन्छ जसबाट घर तथा वरपरको वातावरण रमाइलो हुन्छ।
अहिले घर, कार्यालय तथा पसलमा रंगोली बनाउने चलन बढ्दो छ। चाडपर्वका बेलामा बनाइने यस्ता रंगोलीले जीवनमा सुख-शान्ति तथा समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ।
दीपा ओली
कस्तो हुनुपर्छ दाजुबहिनीको सम्बन्ध ?
दाजु-बहिनीको सम्बन्ध अत्यन्त उच्च र पवित्र हुन्छ। कहिले मीठो लडाइँ-झगडा त कहिले धेरै आत्मीयता यो सम्बन्धको विशेषता हो। दाजुभाइको सुखदुःखमा साथ दिने दिदी-बहिनी आदर्श हुन्छन्। तपाईं यो मापदण्डमा कति खरो उत्रनुहुन्छ ? आउनुहोस् परिक्षण गरौं ः
भाइटीका तपाईंलाई अत्यन्त मनपर्छ, कारण यो पर्वले दाजुभाइसित तपाईंको स्नेहपूर्ण बन्धन कायम राख्न सहयोग गर्छ।
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
तपाईं यो दिनको प्रतीक्षा गर्नुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
तपाईं आफ्नो भाइलाई अत्यन्त माया गर्नुहुन्छ, कारण तपाईंहरू एउटै हाँगाका फूल हुुनुहुन्छ अर्थात् तपाईंहरूबीच रगतको साइनो छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
यो दिन तपाईं दाजुभाइबाट महँगो उपहारको अपेक्षा राख्नुहुन्छ
क) होइन,
ख) कहिले हो कहिले होइन,
ग) हो।
तपाईं आफ्नो भाइलाई भाइटीकामा मात्र सम्झनुहुन्छ र अरू बेला ऊसित भेट्ने इच्छा देखाउनु हुन्न ?
क) होइन,
ख) कहिले हो कहिले होइन,
ग) हो।
यदि तपाईंका दाजुभाइले गलत काम गरे रोक्नुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
तपाईं आफ्नो भाइ सधै स्वस्थ रहोस् भन्ने चाहनुहुन्छ, उसको उन्नति देख्न चाहनुहुन्छ। त्यसका लागि उसलाई मद्दत पनि गर्नुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
भाइ आर्थिक रूपमा कमजोर भए पनि तपाईं उसलाई उत्तिकै स्नेह र सम्मान दिनुहुन्छ। किनभने तपाईंको मान्यतामा दाजु-बहिनीको सम्बन्ध पैसाको हुँदैन ?
क) हो।
ख) कहिले हो कहिले होइन,
ग) होइन।
आफ्ना दाजुभाइका साथै उनको परिवार अर्थात् पत्नी र सन्तानप्रति पनि उत्तिकै प्रेम गर्नुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
आफ्ना दाजुभाइका रुचि अरुचिका बारेमा पूर्ण जानकारी राख्नुहुन्छ र सोहीअनुरूप व्यवहार गर्नुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
आफ्नो भाइसित लिन मात्र होइन उसलाई दिनमा पनि विश्वास राख्नुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
आफ्ना श्रीमान् र उनका परिवारजनले पनि आफ्ना दाजुभाइलाई सम्मान गरून् भन्ने चाहनुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
आफ्ना दाजुभाइसित फोनमा वा माइती गएर धेरै कुराकानी गर्नुहुन्छ प्रेमपूर्ण झगडा गर्नुहुन्छ, बाल्यावस्थाका कुरा गरेर रमाउनुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
यदि दाजुभाइले तपाईंको मन दुखाएमा दाजुभाइको कुरालाई बिर्सने प्रयास गर्नुहुन्छ वा उसलाई उसको गल्ती बताउनुहुन्छ ?
क) हो,
ख) कहिले हो कहिले होइन,
ग) होइन।
परिणाम
तपाइर्ंको धेरैजसो उत्तर -क) छ भने तपाईं आदर्श दिदी वा बहिनी हुनुहुन्छ।
तपाईंको धेरैजसो उत्तर -ख) छ भने तपाईं असल दिदी वा बहिनी हुनुहुन्छ तर आदर्श भने होइन।
यदि तपाईंको धेरैजसो उत्तर 'ग' छ भने तपाईं स्वार्थी दिदी वा बहिनी हुनुहुन्छ अर्थात् तपाईंमा आफ्ना दाजुभाइप्रति रुचि एवं आत्मीयता छैन।
उपहारमा के दिने
मैतिदेवीकी नीरा थापा गत असारमा विवाहका गरेका भाइलाई यसपटकको तिहारमा मलेसियाको हनिमुन टि्रप प्याकेज उपहारका रूपमा दिने योजनामा छिन्। नीरा भन्छिन्- समय अनुसार उपहारको महत्व र मान्यतामा परिवर्तन आएको छ। अतः भर्खर विवाह गरेका भाइ-बुहारीलाई हनिमुन टि्रप प्याकेज प्रदान गर्नु अविस्मरणीय हुने उनको ठम्याइ छ। कलंंकीका दीपेन्द्र कायस्थ भने भाइटीकाको अवसर पारेर बहिनीको स्लिमिङ सेन्टरको सम्पूर्ण खर्च बेहोर्ने सुरमा छन्। उनी मोटोपनबाट चिन्तित आफ्नी बहिनीलाई स्लिमिङ सेन्टरमा पठाएर चिन्ता घटाउन सघाउने सोचमा छन्।
पर्व र अवसरका समयमा उपहार आदान-प्रदान गर्ने परम्परा मानव समाजमा धेरै पहिलेदेखि चलेको पाइन्छ। भाइटीकाको अवसरमा दिदीबहिनी एवं दाजुभाइबीचको सम्बन्धमा प्रेम, आत्मीयता र प्रगाढतालाई अझ सुदृढ एवं सुमधुर बनाउन उपहारले महत्वपूर्ण भूमिका खेल्छ। समय, परिस्थिति, व्यक्तिको रुचि एवं चाहना तथा आधुनिकतासँगै उपहारको रूपमा धेरै परिवर्तन आए पनि यसको महत्व र अपरिहार्यता भने उस्तै छ।
दाजुभाइका लागि
अधिकांश दाजुभाइले पर्सनल टच भएको उपहार रुचाउँछन्। स्वादिष्ट परिकार ख्वाएर उनीहरूको मन जित्न सकिन्छ। दाजुभाइ मिठाईमा रुचि राख्छन् भने थरिथरिका मिठाई, कुकिज, केक, क्यान्डिज वा पेस्टि्रको गिफ्ट बास्केट भेट गर्न सकिन्छ। चकलेट रुचाउनेहरूका लागि उनीहरूलाई मन पर्ने स्वादको चकलेट बक्स प्रदान गर्नु उपयुक्त हुन्छ।
धेरैजसो पुरुष आफ्नो व्यक्तित्व एवं जीवन शैलीलाई प्रतिबिम्बित गर्ने उपहारप्रति रुचि राख्ने भएकाले दाजुभाइलाई उपहार दिँदा विशेष ध्यान पुर्याउनुपर्छ। कोही संगीतप्रति क्रेजी छन् भने उनलाई मनपर्ने गीत-संगीतको सिडी कलेक्सन, मेगा क्यापासिटी भएको एमपी थ्री प्लेयर, आइपोड आदि उपयुक्त हुन्छ। अध्ययनमा रुचि राख्नेहरूका लागि पुस्तक, राम्रो उपन्यास तथा अटोवायोग्राफी सही छनोट साबित हुन सक्छ। खेलकुदप्रति रुचि राख्नेलाई स्पोर्ट इभेन्टको टिकट, पि्रय खेलाडीको रुम पोस्टर, कष्टमाइज्ड स्पोर्टस जर्सी, स्पोर्टस ग्याजेट आदि उपहार दिन सकिन्छ।
आफ्नो लुकमा बढी ध्यान दिनेहरूका लागि सुहाउँदो स्टाइलिस पहिरन, आफ्टर सेभ लोसन, हेयर जेल, बडी स्प्रे, कोलन, हेयर स्पे्र आदि उपयुक्त हुन्छ। शारीरिक सुगठनमा रुचि भएकाहरूलाई हेल्थ म्यागेजिनको सदस्यता, जिम ग्याजेट, हेल्थ क्लबको सदस्यता, ब्रान्डेड स्पोर्टस वेयर आदि ठीक हुन्छ। फेसन एवं स्टाइल पछ्याउनेहरूका लागि भने लेटेस्ट ट्रेन्डको पहिरन, स्टाइलिस सनग्लास, ट्रेन्डी नाडी घडी, फेन्सी बेल्ट, परफ्युम, डिओडरेन्ट आदि उपयुक्त उपहार हुन सक्छन्। यसबाट दाजुभाइको रुचि एवं चाहनालाई महत्व दिएको कुरा झल्कनुका साथै आफूले उनलाई बुझेको कुरा पनि अभिव्यक्त हुन्छ।
व्यस्त मानिसहरूका लागि लेदर वालेट, ब्याग, ल्यापटप होल्डर, अर्गनाइजर, टाइमपिस, सिगरेट केस, कार्ड होल्डर, पेन होल्डर, बि्रफकेस, टाइपिन, कफलिङक, पोर्टफोलियो डायरी, ब्याग, फाइल सेट वा स्पाका गिफ्ट कुपन आदि उपयुक्त हुन सक्छन्। टेक्नोलोजीको विकाससँगै अधिकांश पुरुष जिज्मो जीवनशैलीमा बाँधिएका छन्। उनीहरू कम्प्युटर, ल्यापटप, सेलफोन तथा आइपोडको दुनियाँमा व्यस्त देखिन्छन्। उनीहरूको जीवन शैलीअनुरूप लेटेस्ट मोडलको हाइफाइ सेलफोन वा आइपोड उपयुक्त उपहार हुन सक्छ। यसका अतिरिक्त इलेक्ट्रोनिक डायरी, कार स्टेरियो एवं उच्च क्वालिटीको डिभिडी प्लेयर, होम थिएटरको साउन्ड सिस्टम, क्यामेरा, मुभी क्यामेरा, एलसिडी टेलिभिजन स्त्रिन आदिले पनि दाजुभाइको मन जित्न सकिन्छ। यस्ता सामग्री अरूभन्दा धेरै समयसम्म रहने भएकाले तुलनात्मक रूपमा उपयुक्त मानिन्छन्।
इलेक्ट्रोनिक ग्याजेटका अत्तिरिक्त दाजुभाइका लागि फेसन एसेसरिज पनि उत्तम हुन्छ। ट्रेन्डी नाडी घडी, स्टाइलिस गगल्स, लेदर वालेट, बेल्ट, स्कार्फ, कफलिन्क, टाई र टाइपिनको सेट, मफलर, ब्रासलेट, टिसर्ट, सुटपिस, रेडिमेड सर्ट, पाइन्ट वा सर्टर् पिस आदि प्रदान गरी दाजुभाइप्रति आत्मीयता व्यक्त गर्न सकिन्छ।
दिदीबहिनीका लागि
आकर्षक गरगहना महिलाको मन जित्ने सबैभन्दा सहज उपाय हो। अतः तिहारमा बजेटअनुसार दिदीबहिनीलाई सुन वा हीराका गरगहना उपहार प्रदान गर्न सकिन्छ।
दिदीबहिनीलाई ब्रासलेट, औंठी, फेन्सी इयर रिङ, गोल्ड वा सिल्भर चेन, पेन्डेन्ट आदि
अनलाईन बाट
Comments :
0 comments to “बास्तबमा तिहारको के महत्व छ,किन मनाइन्छ ?यो कसरी मनाइन्छ ।”
Post a Comment