
पृथ्वीको चारैतिर वायुमण्डल विद्यमान छ । वायुमण्डलका कारणले गर्दा नै पृथ्वीमा जीव अस्तित्व सम्भव भएको हो । पृथ्वीको सतहदेखि माथि लगभग १ हजार ६ सय किलोमिटर टाढासम्म बायुमण्डल फैलिएको छ । वायुमण्डलमा हावा मात्र छ र हावामा अक्सिजन, नाइट्रोजन एवं कार्बन डाइअक्साइड नामक ग्यासहरू छन् । यसका अतिरिक्त वायुमण्डलमा आर्गन, नियान, हाइड्रोजन र ओजोन आदि ग्यासहरू पनि केही मात्रामा विद्यमान छन् ।
वायुमण्डलमा लगभग ७८ प्रतिशत नाइट्रोजन र २१ प्ा्रतिशत अक्सिजन ग्यास छ भने बाँकी एक प्रतिशत अन्य ग्यास छ । पृथ्वीको माथिल्लो भाग बढ्दै गएपछि विस्तारै- विस्तारै हावाको मात्रा कम हुन्छ र सोहीअनुरूप पृथ्वीबाट लगभग ८ किलोमिटरमाथि पुगेपछि हावा निकै कम भैसक्छ । यसका साथै वायुमण्डलमा ओजोन तह पनि हुन्छ जसले सूर्यको हानिकारक परावैजनी विकीरणहरूबाट हाम्रो रक्षा गर्छ । ओजोन तह पृथ्वीबाट लगभग १० देखि ५० किलोमिटरको उचाइमा हुन्छ । यसका अतिरिक्त पृथ्वीमा जीवमण्डल पनि छ । खासगरी जीवहरू रहने ठाउँलाई जीवमण्डल भनिन्छ । जीवमण्डलमा मानिसलगायत असंख्य प्रकारका जीवजन्तु, बोटविरुवा एवं सूक्ष्मजीवहरू विद्यमान छन् । जीवहरू जल, थल, वायु आदि सबै ठाउँमा हुन्छन् ।
पृथ्वीको ७१ प्रतिशत भाग पानी अर्थात् समुद्रमा डुबेको छ । पृथ्वीको यो विशाल भागमा विभिन्न किसिमका परिवर्तनहरू भैरहेका हुन्छन् जसको सबै जानकारी पाउन सम्भव हुँदैन । पृथ्वीको गर्भबाट अहिले पनि पग्लिएका चट्टानहरू ज्वालामुखीको लावाका रूपमा कहिलेकाहीँ पृथ्वीको सतहमा आउँछन् र यसबाट पृथ्वीका केही भागमा ठूलाठूला प्राकृतिक उथलपुथलहरू पनि हुने गरेको हामी पाउँछौं । पृथ्वीमा धेरैजसो परिवर्तनहरू समुद्रको गहिराइमा लुकेका हुन्छन् जुन हामीलाई थाहा हुँदैन । समुद्रभित्र जुन ज्वालामुखी विष्फोट हुन्छ र त्यसबाट म्याग्मा निस्कन्छ त्यसको ज्वाला वा गर्मीले समुद्री जीवलाई मदत गर्छ । यसबाट निस्किएका लाभा एपं खरानीहरू समुद्री सतहमा जमेर ठूलठूला पहाडजस्तै शिखर बन्छ । समुद्रभित्र यस प्रकारको परिवर्तन हुने भएकाले सम्पूर्ण धर्तीमा हरेक वर्ष लगभग तीन वर्गकिलोमिटर नयाँ समुद्र तयार हुन्छ भन्ने वैज्ञानिकहरूले बताएका छन् ।
दुःखका साथ भन्नुपर्छ- हामीले बसोवास गरी आएको पृथ्वीप्रति हामीले न्याय गर्न सकिरहेका छैनौं । हामीले पृथ्वीमा भएको घना जंगललाई काटेर प्राकृतिक सन्तुलन कायम गर्ने जीवजन्तुहरू नष्ट गरिरहेका छौं । जल, स्थल र वायु प्रदँषित गर्दैछौं तथा पर्यावरणीय प्रदँषण फैलाइरहेका छौं । यस्ता लापरबाहीपूर्ण मानवीय क्रियाकलापहरू लाई रोक्नु वा नियन्त्रण गर्नु आवश्यक मात्र नभई अपरिहार्य नै भैसकेको छ । हामीले बसोवास गर्दै आएको यो एक मात्र जीव अनुकूलको ग्रह पृथ्वीको रक्षा गरी भावी सन्ततीलाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने परिस्थितिको सिर्जना गर्नु हामी सबै पृथ्वीवासीको साझा दायित्व र कर्तव्य होइन र ?
Comments :
0 comments to “खतरामा छ, पृथ्वीको भविष्य”
Post a Comment