
त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको कासीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो । श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवी मिलेर भानुभक्त जन्माए । तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए । भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता लेखेर पनि छपाइदिए :
भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो !
यस सिलोकको चौथो हरफमा प्रयुक्त 'मो' शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए । किनभने भानुभक्तले उनका कुनै पनि रचनामा 'म' लाई 'मो' लेखेका छैनन् तर मोतीरामले भने आफ्ना रचनामा 'म'को साटो जताततै 'मो' लेखेका छन् । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो. चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे । भानुभक्तको जीवनकथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आफै बुने होलान् । किनभने त्यस जमानामा पाहुना बाहुनलाई घरपिँडीमा मात्र होइन बारीको ढिकी भए ठाउँमा समेत बास बस्न दिइएको छैन । त्यस घडी नेपाली समाजमा साँझका पाहुनालाई देउता तुल्य मानिने परम्परा थियो । त्यसैले घाँसी कविताझै अतिथिको सत्कार गर्नुपर्ने नैतिक शिक्षा पनि भानुभक्तका नाउँबाट नै मोतीराम आफैले यसरी प्रस्तुत गरे होलान् :
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जानालाई सबसित बिदाबारि भइछन् ।
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।
मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारापतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । मोतीरामका अनुसार एक पटक भानुभक्तलाई आफ्ना साथी तारापति उपाध्यायले घर लिएर गए । त्यो रात भानुभक्त त्यहीँ बसे । तारापतिका घरमा सासुबुहारीले भनाभन र कुटाकुट गरेर रात र्छलङ्गै पारे । रातभरिको जाग्रामपछि बिहानैको मिर्मिरेमा सलेदो बालेर भानुभक्तले'बधुशिक्षा' लेखे । अनि त्यस घरमा पानी पनि नखाई बिहानै त्याहाँबाट भानुभक्त हिँडे । साथीका घरबाट हिँड्ने बेला उनले आफ्ना साथी तारापतिलाई एउटा कविताको कागज दिए भनेर मोतीरामले नै लेखे । तर यो कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न मोतीराम आफैले लेखेका थिए भन्न सकिन्छ :
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन् जहानहरू ता लड्न्या रह्या छन् अती
सारै झोक उठयो मलाई र बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरूको तालिम् गरौंला भनी ।
भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।
भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।
Comments :
0 comments to “सम्झनामा भानुभक्त "भानुभक्त आचार्य कसरि आदि कबि भए"”
Post a Comment