wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 3, 2010

खुलामञ्चमा के-के भने नेताहरुले ?


काठमाडौं, चैत्र २१ - नेपाली कांग्रेसले पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको श्रद्धान्जली सभा राजधानीको खुलामञ्चमा आयोजना गरिरहेको छ । श्रद्धान्जली सभामा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाललगायत संविधानसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुको उपस्थिति छ ।यस्तै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको छ । कोइरालाको १३ औं पुण्य तिथिमा छोरी तथा उपप्रधानमन्त्री सुजाता कोइरालाले श्रद्धान्जली सभा तथा प्रसाद ग्रहण कार्यक्रम राखेपछि पार्टीले शनिबार श्रद्धान्जली सभाको आयोजना गरेको हो ।
गिरिजाबाबु राणा-राजासँग लड्ने लडाकुः देउवा
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले जिवनभर लडाईँ लडेको बताएका छन् ।
कांग्रेसले शनिबार खुलामञ्चमा आयोजना गरेको श्रद्धान्जली सभामा उनले गिरिजाबाबु राणा शासन, पञ्चायती शासन र ज्ञानेन्द्रको एकदलीय शासनको विरुद्धमा लड्ने लडाकु भएको बताए ।
कांग्रेस अब मध्यमार्गी धारमाः पौडेल
कांग्रेस उपसभापति एबं संसदीय दलका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई संस्थागत, सामूहिक नेतृत्व र मध्यमार्गी धारबाट अघि बढाइने बताएका छन् ।
उनले कांग्रेसमा देखिएको मतभिन्नताबारे पत्रपत्रिकाले लेखेको कुरामा विश्वास नगर्न आग्रह गर्दै कांग्रेस काँचो इट्टाले बनेको घर नभएकाले यसमा विलचन नआउने बताए ।
'राष्ट्र वा पार्टी मध्यममार्गी धारबाट अघि बढ्नुपर्छ,' उनले भने, 'पृथ्बीको पूर्वी गोलार्द्धनै त्यही दर्शनबाट अघि बढेको छ ।' उनले हिंसामुक्त राजनीति जारी भएकोमा चिन्ता ब्यक्त गर्दै यसले गणतन्त्र र राजतन्त्रमा फरक छुट्याउन गारो परेको बताए । 'राजतन्त्रले हिंसा र राजनीतिको आडमा शासन गर्‍यो', उनले माओवादीप्रति लक्षित गर्दै भने, 'हिंसाको अन्त्य र बलको राजनीति अन्त्य नगर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक पर्छ र'
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गिरिजाबावुले भनेको कुरा समेत स्मरण गरे । 'प्रचण्डजीलाई पनि गिरिजावावुले धेरै भन्नुभयो होला । हामीलाई पनि धेरै कुरा भन्नुभएको छ । तर म यहाँ एउटा कुराको मात्र स्मरण गर्न चाहन्छु ।' पौडेलले भने,' देशको राजनीति भयानक र गम्भीर बन्दैछ । मुलुक द्वन्द्व र रक्तपातमा फस्ने खतरा देखेको छु । त्यसैलाई मुक्त गर्न प्रचण्डजीको लागि संयन्त्र बनाएको हु ।'
माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रतिगामीहरु सल्बलाएको बताएका छन् ।
'गिरिजाबाबुको निधन भएपछि मात्र क-कसले के-के बोले कुन कुन प्रवृत्तिहरु छन्,' उनले भने, 'इतिहासको रंगमन्चबाट हटाइसकेका प्रेतहरुले के-के बोले, यसको हिसावकिताव हामीले गर्नेछौं ।' कोइरालाको निधनलगत्तै पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र समाप्त नभएको अभिव्यक्ति दिएका थिए भने कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईले पुरानै संविधान ब्युँताउन सुझाव दिएका थिए ।


दाहालले कोइरालाले छाडेर गएको शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई पूरा गर्ने जिम्मेवारी प्रमुख राजनीतिक दललाई आएको बताए । 'हामीसँगै केही समस्या केही अन्तरहरु छन्,' दाहालले भने, 'हामी निरास हुनुपर्ने कारण छैन, महान प्रक्रिया पूरा गर्ने आँट गर्नुपरेको छ ।'
दाहालले शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने सह-हस्ताक्षरकर्ताको नाताले आफू यस प्रक्रियालाई टुंग्याउन लाग्ने बताए । दाहालले कोइराला शान्ति प्रक्रियामा सफल भएको उल्लेख गर्दै बाँकी कार्य पूरा गर्ने जिम्मेवारी आफूहरुमाझ आएको बताए ।
कोइरालासँग भावनात्मक सम्बन्ध
कोइरालासँग राजनीति मात्र नभएर भावनात्मक सम्बन्धसमेत रहेको उनले बताए । 'पहिले त हामी एक अर्कालाई निषेध गर्ने अवस्थामा थियौं,' उनले सम्झिए, 'गर्दै जाँदा उहाँसँग एक प्रकारको भावनात्मक सम्बन्ध पनि भयो । उमेरले गिरिजाबाबु अभिभावक भएकाले मैले गल्ति गर्दा पनि 'त्यसो नगरेको भए हुन्थ्यो' भन्नुहुन्थ्यो ।'

पक्ष-विपक्षमा बिभाजित हुने अवस्थाको अन्त्य गरौः खनाल



एमाले अध्यक्ष झलनाथ खनालले पछिल्लो समयमा राजनीतिक दलहरुबीच अन्तरसंघर्ष र असमझदारी बढेकोमा चिन्ता ब्यक्त गर्दै पक्ष र प्रतिपक्षमा बिभाजित हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।राजधानीमा शनिबार आयोजित स्वर्गीय गिरिजाप्रसाद कोइरालाको श्रद्धान्जलि सभामा बोल्दै उनले राजनीतिक दलहरु पक्ष-प्रतिपक्ष भएर बिभाजित हुदा असमझदारी बढ्ने पनि बताए । राष्ट्रिय सरकारको चर्चा चलिरहेको बेला उनले भने, 'हामी जति पक्ष- प्रतिपक्ष भएर विभाजित हुन्छौ, त्यति नै असमझदारी बढ्न सक्छ ।'


उनले प्रमुख तीन दल मिल्नुको बिकल्प नभएको बताउदै निर्धारित समयमै संविधान जारी गर्न र शान्ति प्रकृया टुंग्याउन अहिलेको प्रमुख कार्यभार भएको पनि बताए । 'दुई मुख्य कार्यभार बहन गर्न तीन पार्टीले जिम्मेवार हुनुपर्छ ।' शान्ति र संविधानबारे बिभिन्न प्रश्न उठेको बताउदै उनले भने, 'निर्धारित समयमा यी कार्यभार पूरा नहुन पनि सक्छन । त्यो अवस्थामा पनि आम जनतासगको सहमतिमा सकरात्मक जवाफ दिनुपर्छ ।' उनले शान्ति र संविधान यक्ष प्रश्नको रुपमा खडा भएको पनि बताए ।
खनालले तीन 'स' को सिद्धान्तको आधारमा अघि बढ्दै निर्धारित समयमै संविधान बनाउन दलहरुले अठोट र संकल्प लिनुपर्ने बताए । उनले गिरिजावावुले भन्ने गरेको संवाद, सहमति र सहकार्यलाई तीन 'स'को अहिले पनि बिकल्प नभएको बताए ।
निधन हुनु तीन दिन अघि कोइरालासँग कुराकानी गरेको स्मरण गर्दै उनले उक्त चार/पाँच मिनेटको संवादमा सबै मिलेर अघि बढ्न कोइरालाले जोड दिएको पनि बताए ।
'तपाइहरुको काँधमा जिम्मेवारी आएको छ । मैले प्रचण्डलाई पनि त्यसै भनेको छु', कोइरालाको संवाद स्मरण गर्दै उनले भने, 'म अशक्त छु । तपाईसँग अलि बढि कुरा गर्नुछ , दुइ तीन दिनपछि स्वस्थ्य भएर पुन भेट्छु भन्नुहुन्थ्यो । तर ठिक तीन दिनमा उहाको निधन भयो ।'



संविधान समयमै बनाए गिरिजाबाबुप्रति सच्चा श्रद्धान्जलीः प्रधानमन्त्री
सभामा बोल्दै प्रधानमन्त्री माधवकुमार नेपालले संकिर्णता र स्वार्थ परित्याग गरेर सबैले जनतालाई केन्द्रविन्दूमा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।  श्रद्धान्जलिसभामा उनले कोइरालालाई बीच बाटोमै गुमाउनुपरेको चर्चा गर्दै शान्ति प्रकृया र संविधान निर्माण यात्रालाई समयमै टुंग्याउनु उनीप्रतिको सच्चा श्रद्धान्जलि हुने बताए ।
'संविधान निर्माण गर्न ६० दिनभन्दा कम समय बाँकी छ । शान्ति प्रकृयाले पूर्णता पाएको छैन', उनले भने, 'सहमति, समझदारी र एकताका साथ सबै मिलेर अघि बढ्नुपर्ने खाँचो छ ।'
उनले  अधिकतम लचकताका साथ आपसी विश्वासका साथ सबै संकिर्णता परित्याग गरेर राष्ट्र र जनतालाई केन्द्रविन्दूमा राख्नुपर्ने बताए ।
सहकार्यलाई अघि बढाउँ: निधि
कांग्रेस महामन्त्री विमलेन्द्र निधिले शान्ति प्रकृया अन्र्तगत बाँकी रहेका माओवादी लडाकुको व्यवस्थापन, विस्थापनको पुर्नस्थापन र कब्जा सम्पत्ती फिर्ता गर्नुपर्ने बताए । उनले गिरिजावावुले देखाएको सहमति, सहकार्य र एकताको राजनीतिलाई अघि बढाउनुपर्ने बताए ।
गिरिजावावुको रिक्तता पूर्ति गर्नुपर्ने: अर्जुननरसिंह
प्रवक्ता अर्जुननरसिंह केसीले  एकता, अनुशासन र सामूहिक तथा संस्थागत नेतृत्वले कांग्रेसलाई अघि बढाउदै गिरिजावावुको रिक्तता पूर्ति गर्नुपर्ने बताए । उनले यसै अबधारणा अन्र्तगत केन्द्रदेखि गाउँतहसम्म पार्टी अघि बढ्नुपर्ने भन्दै नेतृत्वको अग्नी परिक्षाको घडी समेत आएको बताए ।
श्रद्धान्जलिसभा जारी छ । सभामा सबै पार्टीका बरिष्ठ नेताहरुको सहभागिता रहेको छ ।
'स्पेस' दिने भनाइले तान्योः कमल थापा
कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्रमा सवैलाई 'स्पेस' दिने कोइरालाको विचारका कारण आफूहरुले पनि उनलाई नेता मानेको बताए । 'गिरिजाबाबु प्रजातन्त्रमा कसैको हार हुँदैन सबै समूहको जीत हुन्छ भन्ने महान विचार राख्ने व्यक्ति हुनुहुन्थ्यो,' संवैधानिक राजतन्त्र पक्षधर उनले भने, 'त्यसैले उहाँ सवै बिचार बोक्नेको नेता हुनुहुन्थ्यो ।'
थापाले गिरिजाबाबुलाई अभिभावक मान्ने ठूला तीन दलले उनको शान्ति अभियान पूरा गर्ने जिम्मेवारी रहेको बताए । 'गिरिजाबाबुलाई अभिभावक मान्ने माओावादी, कांग्रेस र नेकपा एमालेले उहाँको अभियान पूरा गर्ने अभियानमा कसरी हिड्नुहुन्छ हेर्न बाँकी छ,' उनले भने, 'यदि यो जिम्मेवारी पूरा गर्नु भएन भने गिरिजाबाबुको आत्माले शान्ति पाउँदैन तपाईहरुले पनि विश्वास गुमाउनुहुन्छ ।'
गिरिजाबाबुले प्रजातन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी छाडेर गएको उल्लेख गर्दै थापाले सयमै संविधान जारी गर्ने अग्नि परीक्षामा उत्तिर्ण हुन आवश्यक रहेको बताए ।
प्रतिगामीको आकांक्षा मनको लड्डु जस्तैः मैनाली
माले महासचिब सिपी मैनालीले प्रतिगामी, दक्षीणपन्थीहरुले टाउको उठाउन खोजेको भन्दै त्यस्ता प्रबृतिको विरोध गर्नुमात्र भन्दा सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताए ।
'तर उनीहरुको आकांक्षा मनको लड्डु जस्तै हो ।' उनले भने, 'समयमै संविधान जारी गर्नु र शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउन सहमति र सहकार्यको खाँचो छ ।'
फरक विचार भएकालाई कुटेर हुँदैन श्रद्धान्जलीः चित्रबहादुर
कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फरक विचार भएकालाई कुटेर गिरिजाबाबुप्रति सच्चा श्रद्धान्जली हुन नसक्ने बताएका छन् ।
'सरकारमा गएकाहरुले हामीलाई कुटिरहेका छन्,' माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि देखाउँदै केसीले भने, 'प्रचण्डजी यहीं हुनुहुन्छ उहाँका कार्यकर्ताहरुले पोखरामा भर्खरै हाम्रा कार्यकर्तालाई पिटकै छन् यसरी गिरिजाबाबुप्रति सच्चा श्रद्धान्जली हुन सक्दैन ।'
उनले लोकतन्त्रमा सवैको कुरा सुन्न सक्नुपर्ने बताए । केसीले जातीय आधारमा मुलुकलाई संघीयतामा लैजाने निर्णयप्रति पुर्नविचार गर्न सुझाव दिए । 'साथीहरुले गणतन्त्र ल्याउनु भएको छ त्यो पनि जातीय आधारमा यसले देश बिखण्डन हुन्छ,' उनले भने ।
गिरिजाबाबुको दृढताका कारण नेपालमा राजतन्त्र उखेलिएको उल्लेख गर्दै नेता केसीले नयाँ संविधानलाई समयमै बनाउन क्रियाशील हुन मुख्य तीन दललाई आग्रह गरे ।
 गिरिजाबाबुले माओवादीलाई संविधानसभामा ल्याएः सूर्यबहादुर थापा
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले गिरिजाबाबुले नेपालको शसस्त्र द्वन्द्वलाई सहज ढंगले अन्य गरेको बताए ।
उनले गिरिजाबाबुले द्वन्द्वरत माओवादीलाई संविधानसभामा भाग लिने वातावरण बनाउनेदेखि राजनीतिक परिपाटी निर्माण गर्ने कुरामा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । 'त्यसैले उहाँलाई ऐतिहासीक व्यक्तित्व बनायो,' थापाले भने, 'उहाँले सुरु गर्नुभएको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेावरी वर्तमान नेतृत्वलाई छ ।'
हिंसा र बन्दुकको राजनीति त्यागौः महन्थ ठाकुर
तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ संविधानले हतियार र बल प्रयोग गर्ने राजनीतिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् । उनले शान्ति, मेलमिलाप र संवाद प्रकृयालाई नयाँ संविधानले सुनिश्चित गर्नुपर्नेमा जोड दिदै भने, 'बन्दुकले खेतीपाती उद्योग, ब्यवसाय चलाउन सक्दैन ।' नेपाली जनता शान्तिपि्रय भएपनि नेपालको इतिहाँस हत्या, हिंसा र षडयन्त्रले भरिएको भन्दै भय र त्रासको वाताबरणबाट मुलुकलाई मुक्त गर्नसक्नुनै गिरिजावावु प्रति सच्चा श्रद्धान्जलि हुने बताए ।
कान्तिपुर बाट 

Comments :

0 comments to “खुलामञ्चमा के-के भने नेताहरुले ?”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger