रंगकर्मी दयाहाङ राईलाई फिल्म खेल्ने अफर आयो। एमाले नेता मदन भण्डारीको रहस्यमय दुर्घटनामाथि बन्न लागेको फिल्म 'दासढुंगा'को नाम नै उनलाई रहरलाग्दो लाग्यो। अमर लामाको भुमिका भनेपछि उनी अझ लोभिएका थिए। चिनेकै मान्छेले बनाउन लागेको फिल्ममा सजिलै खेल्न पाइन्छ भन्नेमा उनी आशावादी थिए।तर, सोचे जस्तो भएन। 'ज्यान अलि मोटो भन्दै मलाई नराख्ने कुरा भयो। अडिसन पनि दिन पाइनँ,' फिल्म 'दासढुंगा'मा निकै रुचाइएका कलाकार दयाहाङ राईले भने। एक महिनापछि उनलाई फेरि बोलाइयो। शरीर 'मेन्टेन' गरे भूमिका मिल्ने भयो उनलाई। 'त्यसपछि त दौड र अमर लामाबारे अध्ययन एकैपटक सुरु गरेँ,' गुमिसकेको भुमिका पाउँदा उनी सहजै यो कठिनाइ मोल्न तयार भए। एक त मृत्यु भइसकेको मान्छे। त्यसमाथि एकपटक पनि नभेटेको। रोल निकै चुनौतीपूर्ण थियो। 'लामाले लेखेको 'दासढुंगा दर्पण' पढेर बोल्ने शैली बनाएँ। उनीसँग काम गरेका दुई जनालाई भेटेँ। र, केही बोलेर सुनाएँ। सुहायो नभनुन्जेल यो काम जारी राखियो,' २५ दिनको तयारीपछि अभिनय गर्ने हिम्मत पलाएको उनी सम्झन्छन्।
उनले दासढुंगा दुर्घटनाको समाचार जन्मथलो भोजपुरमा सुनेका हुन्। हेडमास्टरको घरमा सुनेको त्यो समाचारले खासै प्रभाव नपारे पनि गाउँमा अमर लामाबारे गरिएका अनेक थरीका टिप्पणी उनले बिर्सेका छैनन्। 'त्यसबेला लामालाई जोडेर निकै गीत रचिए। केही त अहिले पनि सम्झना छ,' दुर्घटनाको तुलनामा लामाको हत्याबारे खासै बहस नगरिएको उनलाई लाग्छ। 'कुनै घटनाको विषयमा जति चर्चा परिचर्चा गाउँमा हुन्छ सहरमा त्यो पाइनँ,' उनले पत्रपत्रिकामा जे पढे, त्यही थियो लामाको मृत्युबारेको जानकारी।
जिउँदो छँदा त्यति चासो नलिए पनि फिल्ममा त्यही पात्रलाई उतार्नु परेपछि दयाहाङ बाध्य भए, अमर लामाको बारेमा सोधखोज गर्न। रंगमञ्चको घेरामै रमाएका दयाहाङ फिल्मको पर्दामा छाउँदै थिए। अवसरसँगै चुनौती पनि निकै थियो। 'पासपोर्ट साइजको जम्मा दुईवटा फोटो थियो। उनको हत्या हुँदाको एउटा फोटो पाएको थिएँ,' उनले भनेँ, 'विभिन्न प्रतिवेदनमा उनले दिएको बयान अध्ययन गरेपछि बोल्ने शैलीको विकास गरेँ। फोटो हेरेरै पोशाक चयन गरियो।'
उनी सुटिङ गर्न तयार भए। पहिलो दिनको सुटिङ थियो, पोखराका हरि पाण्डेको घरमा। जहाँ दासढुंगा दुर्घटनाको अघिल्लो दिन चालक लामासहित नेताद्वय मदन भण्डारी र जीवराज आश्रित बसेका थिए। सुटिङका क्रममा आफूलाई देखेर जब पाण्डेकी श्रीमती झस्किइन् दायाहाङलाई आश जागेछ, 'जे होस मेरो अभिनय वास्तविक पात्रभन्दा धेरै फरक चाहिँ नहोला।'
तीन महिनामा सुटिङ सकियो। युवा र प्रौढ भुमिका उनैले निर्वाह गरे। उसैपनि वास्तविक पात्रको भुमिकामा देखिनु चुनौतीपूर्ण मानिन्छ। त्यसमाथि पनि अमर लामा सात वर्ष अघिसम्म जीवित र सक्रिय थिए। आफूले नचिनेको तर धेरैले चिन्ने व्यक्तिको रूपमा देखिनु जति धेरै चुनौती थियो, उनी त्यति नै व्यग्र थिए प्रतिक्रिया थाहा पाउन।

'दासढुंगा' रिलिज भएपछि उनी निराश हुनुपरेन। लामालाई नजिकबाट चिन्नेबाट पनि राम्रो अभिनय गरेको प्रतिक्रिया उनले पाए। यही भुमिकाले नेसनल फिल्म अवार्डमा उनलाई उत्कृष्ट सहअभिनेताको अवार्ड मिल्यो।
फिल्ममा अनुबन्धित भएपछि चालक लामाबारे जान्न उत्सुक भएका दयाहाङमा रिलिज भइसक्दा त्यो मात्रा अझै बढ्यो भन्छन्। अहिले उनलाई लाग्छ, 'दासढुंगा दुर्घटना थियो या षडयन्त्र यसको एउटै साक्षी थिए अमर लामा। दासढुंगाभन्दा पनि ठूलो रहस्य अमर लामाको हत्या हो।
नागरिक दैनिक बाट
Comments :
0 comments to “दासढुङ्गा फिल्मका अमर लामा”
Post a Comment