गिरिजाप्रसाद कोइरालाको अवसान कुनै आकस्मिक घटना होइन । उनको निधन हुँदैछ भन्ने सबैलाई थाहा थियो, तैपनि त्यो हुनासाथ एउटा यस्तो राष्ट्रिय रिक्तता महसुस भयो, जसको परिणाम दुष्परिणाम दुई/चार दिनको श्रद्धाञ्जलि अवधिपछि कम्तीमा पाँच क्षेत्रमा देखिन थाल्नेछ ।कांग्रेस: कांग्रेसमा कोइरालाको उत्तराधिकारी को हुने भन्ने विषय केही समयपछि ठूलो मुद्दा बन्नेछ । बीपीपछि गणेशमान-भट्टराई-गिरिजाप्रसाद युगको अन्त्य भएकाले अब पछिल्लो पुस्ताका त्रयनेता सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वका मुख्य दाबेदार हुन् । हालैका दिनमा पार्टीमा कोइरालाको पकड घटे पनि हिजो आफैंलाई राजनीतिमा डोर्याएका कारण यी तीन नेताले उनलाई ठाडो चुनौती दिन सकेका थिएनन् । तर कावा सभापति, पूर्वप्रधानमन्त्री र संसदीय दल नेताको व्यक्तित्व बनाइसकेका त्रयनेताबीच प्रस्तावित महाधिवेशनको निकटतासँगै शक्तिसंघर्ष बढ्ने निश्चितप्रायः छ । त्यसको असर संविधान निर्माणलगायत राष्ट्रिय राजनीतिमा समेत पर्नेछ । अर्कोतर्फ कृष्णप्रसाद कोइरालादेखि मातृका, बीपी हुँदै गिरिजाप्रसादसम्म आइपुगेको कोइराला परिवारको विरासतले अब पुरानै रूपमा निरन्तरता पाउन सहज छैन । सम्भवतः यसको पहिलो प्रतिविम्ब सुजाता कोइरालाको राजनीतिक जीवनमा देखिनेछ ।
एमाले/सरकार : माधवकुमार नेपालले कोइरालाकै भरथेगमा सरकार बनाएका थिए, तर केही समययता उनको 'माओवादीमुखी' राजनीतिबाट प्रधानमन्त्री स्वयं सशंकित देखिन्थे । कोइरालाको अनुपस्थितिले सरकारको स्थायित्वमा कस्तो असर पर्छ, त्यो निकट भविष्यमा देखिएला । तर माओवादीसँग सरकारको कटुता एक स्तरबाट बढ्न नदिने प्रमुख कारक कोइराला रहेकाले उनको अभावचाहिँ प्रधानमन्त्रीले तत्कालै महसुस गर्नेछन् । अर्कातर्फ एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक संयन्त्रमार्फत कोइरालासँग स्थापित गरेको शक्ति समीकरणचाहिँ आकार नलिँदै सकिएको छ ।माओवादी : कोइरालाको अभाव सबभन्दा बेसी माओवादीले महसुस गर्नेछन् । यी पूर्वविद्रोहीको कांग्रेस, एमाले, नेपाली सेनालगायत राष्ट्रिय शक्तिहरूसँग एक किसिमको सन्तुलनको सम्बन्ध कोइरालाकै कारण सम्भव भएको थियो । उनको अनुपस्थितिमा माओवादी एकातिर र अन्य शक्तिहरू अर्कोतिर उभिने तथा असमझदारी चर्किने तीव्र ध्रुवीकरणको जोखिम छ । अन्तर्राष्ट्रिय समुदायले पनि मुख्यतः कोइरालालाई नै विश्वास गरेर माओवादीलाई 'वैधानिक शक्ति' का रूपमा स्विकारेकोथियो । उनीहरूको लोकतान्त्रिक निष्ठाप्रति आशंका घटाएको थियो । अब माओवादीप्रति विदेशी दृष्टिकोण विस्तारै फेरिँदै गयो भने आश्चर्य हुने छैन ।अन्तर्राष्ट्रिय समुदाय : कोइरालामात्र यस्ता व्यक्ति थिए, जसले बोलेका कुरालाई अन्तर्राष्ट्रिय समुदायले 'नेपालले बोलेको' रूपमा लिन्थ्यो । यस्तो अन्तर्राष्ट्रिय छवि अहिले अरू कुनै नेपाली नेताको छैन । विश्व नेताहरूसँग कोइराला स्तरको व्यक्तिगत सम्बन्ध पनि कसैको बनिसकेको छैन । जो कोही विदेशी नेता आउँदा पनि मर्यादाक्रमलाई पर राखेर उनलाई भेट्न घरैमा जाने गर्थे । झट्ट हेर्दा प्राविधिकजस्तो देखिए पनि परम्परागत कूटनीतिविपरीतको यो चलनले उनको व्यक्तित्वको ओज दर्साउँछ । कोइरालाको यही ओजले मुलुकमा बाह्य शक्तिहरूको चलखेललाई एक हदसम्म न्यूनीकरण गरेको थियो । आफू मर्यादामा बस्ने र अरूले 'बढी गरेको' पनि नसहने स्वभावले त्यो सम्भव भएको थियो । यद्यपि राजतन्त्रको अन्त्यपछि नेपाली राजनीतिमा बाह्य निर्भरता जुन अनुपातमा बढ्यो, उनको अनुपस्थितिमा त्यो प्रवृत्ति अझ अकासिने निश्चित छ ।शान्ति/संविधान : संविधान निर्माण एवम् शान्ति प्रक्रियामा त्यसका संस्थापक अगुवा कोइरालाको भूमिका पछिल्ला दिनमा घट्दै गएको थियो । त्यसैले यी राष्ट्रिय कार्यसूची जोखिममा परेका हुन् । तथापि वामपन्थी र दक्षिणपन्थी दुवै कोणका अतिवादलाई उनको उपस्थितिमात्रले पनि रोकिरहेको थियो । कतिपय राजनीतिक दुर्घटनाहरू टरेका थिए । त्यो किन सम्भव भयो भने यसबीच उनी यस्तो 'प्लेटर्फम' बनिसकेका थिए, जसले आपसमा झगडा गरिरहेका परस्परविरोधी शिविरका नेताहरूलाई समेत एक ठाउँमा भेला पारेर छलफल वा 'डिक्टेट' गर्ने समेत हैसियत राख्थे । तत्काल त्यस्तो राष्ट्रिय अभिभावक कोही देखिँदैन । त्यसैले दल एवम् नेताहरूमा विद्यमान असमझदारी बढदै उनीहरू शान्ति र संविधानलाई छाडेर अतिवादी राजनीतिमा होमिए भने कसले जोगाउने भन्ने प्रश्नको जवाफ तत्काल छैन ।अहिले राष्ट्रसामु एकैसाथ थुप्रै संकट देखापरेका छन् । आउँदो जेठ १४ को समयसीमामा संविधान नलेखिने र शान्ति प्रक्रिया बिथोलिने आम आशंका छ । दलहरूबीच कटुता बढ्दो छ । सरकार र माओवादी द्वन्द्व घटेको छैन । माओवादीले विद्रोहको धम्की दिन छाडेको छैन । राष्ट्रपतिलाई अगाडि सारेर दक्षिणपन्थी सत्तापलटको गाइँगुइँसमेत चलिरहेको छ । सेना समायोजनबाट राष्ट्र विखण्डन हुनसक्ने चेतावनी सेनापतिबाट आएको छ । परराष्ट्र सम्बन्ध असन्तुलनबाट गुजि्ररहेको छ । सरकारले संयुक्त राष्ट्रसंघसँग अनावश्यक द्वन्द्व थालेको छ । अमेरिका र बेलायतले मानवअधिकारका मुद्दामा दिएका लिखित 'सुझाव' लाई बेवास्ता गरिएको छ । मेसिन रिडेबल पासपोर्ट मुद्रणजस्तो राष्ट्रिय सुरक्षासँग सम्बन्धित कामको जिम्मा दक्षिण छिमेकी भारतलाई दिएर उत्तरको चीनलाई रुष्ट तुल्याइएको छ । यी सबै कारणले मुलुक अन्तर्राष्ट्रिय क्रीडास्थल बन्दै गएको छ ।अनि यस्ता राष्ट्रिय/अन्तर्राष्ट्रिय झमेलाका बीच मुलुकको सर्वोच्च राष्ट्रिय व्यक्तित्वको अवसान भएको छ । यसले उत्पन्न गरेको रिक्ततालाई हाम्रा नेताहरूले कसरी पुर्न सक्छन् ? स्व. कोइरालाले अन्तिम घडीमा भनेजस्तै राष्ट्रिय शक्तिहरूबीच राष्ट्रिय सहमति नै यसको एकमात्र सूत्र हो ।
साभार कान्तिपुर बाट
Comments :
0 comments to “शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको अभाब तत्काल ५ ठाउमा महसुस गरिने छ”
Post a Comment