
काठमाडौ, भाद्र ५ - अब कांग्रेसको सभापति को बन्ला ? महामन्त्रीमा कसले जित्ला ? केन्द्रीय कार्यसमितिमा कस्ता अनुहार आउलान् ? युवाहरूको प्रतिनिधित्व कुन रूपमा होला ? कांग्रेसको १२ औं महाधिवेशनको मुखमा यस्तै थुप्रै प्रश्न सुनिन्छन् ।अझ सभापति पदका दाबेदार मानिएका सुशील कोइराला र शेरबहादुर देउवा आ-आफ्नो 'प्यानल' खडा गर्न र मत संख्याको जोडघटाउ गर्नमा तल्लिन छन् । तर कांग्रेसले लिने नीति र कार्यक्रमबारे कतै छलफल हुन्छ, न कसैले चासो राख्छन्, न त नेताहरू स्वयं गम्भीर छन् । महाधिवेशनमा प्रस्तुत हुने नीति र कार्यक्रम तयार गर्न वरिष्ठ नेता देउवाको संयोजकत्वमा समिति क्रियाशील छ । कांग्रेसका कतिपय नेता यसपालिको महाधिवेशनबाट पार्टी समावेशी भएको र ठूलो सपना बोकेर राजनीतिमा आएका युवाहरूको बाहुल्य बढेकाले वैचारिक पाटोमा आमूल परिवर्तन नभए पार्टी झनै संकटमा पर्ने चिन्ता पोख्छन् ।कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य महाधिवेशनपछि आउने नेतृत्व भनेको परम्परागत रूपमा एउटा व्यक्ति हारेर अर्को व्यक्ति स्थापित हुने यान्त्रिक प्रक्रिया मात्रै नभई नेतृत्वको कार्यशैली, निर्णय प्रक्रियामा सामूहिक छलफल, जिम्मेवारी बाँडफाँड, केन्द्रीय तहमा समावेशी र समग्र पार्टीको संरचना जोडिने भएकाले नेतृत्व चयन महत्त्वपूर्ण भाग रहेको बताउँछन् ।'पार्टीको गाउँ, नगर र जिल्ला अधिवेशनमा विचारको पक्ष आउन सकेन । अब पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । भ्रातृसंस्था र शुभेच्छुक संस्थाहरूबीच अन्तक्रिर्या गर्दैछौं,' नीति तथा कार्यक्रम तय गर्ने समितिका सदस्यसमेत रहेका आचार्यले भने, 'आर्थिक र सामाजिक आन्दोलनको भावनालाई कांग्रेसले नीतिगत रूपमा सम्बोधन गर्छ ।'नेतृत्वको होडमा गाउँ तहसम्म कोइराला वा देउवा पक्षमा विभाजित नेताहरू आफ्नो खेमाकालाई जिताउन घुँडा धसेर लागे । केन्द्रीय सदस्य पूर्णबहादुर खड्का लोकतान्त्रिक पार्टीमा कसैलाई समर्थन गर्नु स्वाभाविक रहे पनि केन्द्रीय नेताहरू नै हराउने र जिताउने खेलमा लाग्नु विकृति भएको स्वीकार्छन् । यति हुँदाहुँदै पनि आन्तरिक लोकतन्त्रको हिसाबले अहिलेसम्म नभएको अभ्यास सुरु भएको उनको तर्क छ ।पार्टीको वैचारिक लाइन के हुन सक्छ त ? खड्काका अनुसार आर्थिक, राजनीतिक दृष्टिकोण, संघीयताको संरचना, शासकीय स्वरूप, संविधानमा कांग्रेसको खाका, जनजातिका माग, मधेसी मुद्दा महाधिवेशनको मुख्य एजेन्डा र विचारको मुख्य केन्द्र बन्ने छ । आचार्यले भने अन्य दलको तुलनामा सामाजिक सुधारको अभियानमा कांग्रेसले नेतृत्व लिने गरी कार्यक्रम ल्याउने दाबी गरे । 'शिक्षा, खाद्य सुरक्षा, आवास, रोजगारीका विषयलाई संवैधानिक अधिकारको रूपमा स्थापित गर्न कांग्रेसले नेतृत्व गर्छ,' उनले भने, 'शान्ति प्रक्रिया र संविधान निर्माणमा पनि कांग्रेसको धारणा स्पष्ट हुन्छ ।'युवा नेता गगन थापाले गाउँदेखि जिल्लासम्मको अधिवेशनमा युवाहरूको प्रवेश हुनु संगठनको हिसाबले सकारात्मक भए पनि वैचारिक दृष्टिकोणले प्रशिक्षित बनाउन ठूलो चुनौती थपिएको बताए ।
Comments :
0 comments to “कांग्रेस नेतामुखी कि विचारमुखी ?”
Post a Comment