wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 20, 2010

ईश्वरसँग मेरो ठूलो गुनासो छ

महको नाम लिनेबित्तिकै मुख रसाउँछ। हास्यव्यंग्यमा मदनकृष्ण र हरिवंश यही रसिला स्वादका कारण चर्चित छन्। ३१ वर्ष लामो सहकार्यमा हजारौं व्यङ्ग्यात्मक प्रस्तुति दिइसकेको महजोडी एक-अर्काबिना अपुरो मानिन्छ। यो जोडीमा उमेरले मदनकृष्ण ठूलो भएकाले हरिवंश मदनलाई महत्त्व दिन्छन्। मदनकृष्ण भने आफूभन्दा बढी प्रतिभा भएको भन्दै हरिवंशलाई महत्त्व दिन्छन्। यी दुईबीच बेला-बेलामा सहकार्य तोडिने चर्चा चले पनि दर्शकहरूले उनीहरूको जोडीलाई छुटि्टन दिएका छैनन्। तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गरेयता उनीहरू लगातार लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन्। विभिन्न सर्वेक्षणले महको जोडीलाई नेपालका सबैभन्दा लोकपि्रय कलाकार मानेको छ। ३१ वर्षअघि गाईजात्राको अवसर पारेर राष्ट्रिय बैंकको कार्यक्रममा प्रहसन देखाएपछि उनीहरूले लगातार गाईजात्रे कार्यक्रम देखाए। त्यसैले जब-जब गाईजात्रा आउँछ, उनीहरूको कार्यक्रम हेर्न दर्शकहरू मरिहत्ते गर्छन्। यही मेसोमा यसपटक बुढानिलकण्ठस्थित उनीहरूको स्टुडियोमा पुगेर साप्ताहिकले हरिवंश आचार्यसँग लामो कुराकानी गर्‍यो। 
गाईजात्रा आएको छ, तर केही वर्षयता दर्शकले तपाईंहरूको गाईजात्रे कार्यक्रम हेर्न पाएका छैनन्, यो दर्शकप्रति अन्याय भएन ?

अन्याय त हामीप्रति पो भएको छ । हामीले गाईजात्रा कार्यक्रम देखाउने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेताहरूले खोसिदिए । संविधान नामको प्रहसन देखाउन भित्र पसेकाहरू अहिलेसम्म निस्किएका छैनन् । अनि हामीले कहाँ कार्यक्रम देखाउने ?

त्यतिखेरै विरोध गर्नु पर्दैन्ाथ्यो ?
उनीहरू देशका हिरो हुन्, उनीहरूले राम्रो काम गर्लान् भनेर बधाई दिँदै पठाएको, उनीहरू त जोकर पो भएर निस्किए । जोकर होइन, भिलेन नै भए । उनीहरूको विरोध गरौं, अरू नेता विदेशबाट ल्याउन नमिल्ने । नगरौं उनीहरूको प्रहसन हेरेर जनता वाक्क भैसके ।
अब विरोधको स्वर अरू हलबाट उराल्ने हो कि जस्तो राष्ट्रिय नाचघर, एकेडेमी...?
हास्यव्यङ्ग्यमा लागेका अरू पनि कलाकार छन् । हामीले गछौं भन्नेबित्तिकै उहाँहरूको काम ओझेलमा पर्ने भयो । अहिले उहाँहरूले ती हलबाट हाम्रा नेतागणलाई सम्झाउनु हुन्छ, सुन्नुभएन भने हामी पनि मैदानमा उत्रौंला ।
सबै मिलेर एकसाथ कार्यक्रम गरे भैगयो नि ?
के गर्नु, हामी स्टेजमा चढेपछि दुई चार घण्टा ओर्लन मन लाग्दैन । सिनियर भएको फाइदा उठाउँदा अरूलाई अन्याय पर्छ । सबै मिलेर गरौं न भन्ने हो भने दर्शकसँग पाँच-सात घन्टा एकै स्थानमा बस्ने धैर्यता हुँदैन । के गर्ने होला भनेर सोच्दैछौ ।
यसरी सोच्दासोच्दै धेरै वर्ष बितिसके, दर्शकले महले स्टेज बिर्सियो भन्ने आरोप लगाउन थाले नि ?
कलाकारहरूका लागि स्टेज भनेको आमा हो । तिनै आमाले हुर्काइन्, बढाइन् । यहाँसम्म पुर्‍याइन् । उनलाई कसरी बिर्सनु ?
होइन, इलेक्ट्रोनिक मिडिया नामको प्रेमिकाको फन्दामा परेपछि आमा बिर्सिएको आरोप छ नि ?
अँ प्रेमिकाको फन्दामा त परेको हो, तर आमाबाट टाढा लाने प्रेमिका होइनन्, हाम्रा कतिपय दर्शक हुन् । नेपालको कानुन पनि हो ।
कसरी ?एउटा आधा घन्टाको कार्यक्रम बनाउन पूरा एक महिना लाग्छ । मेहनत गरेर बनायो, तर एक सो देखाउनेबित्तिकै त्यो भिडियोमा खिचिएर देश-विदेश पुग्छ । हामी कति अनुरोध गछार्ंै, यसरी खिच्दा हामी अरू स्थानमा सो देखाउन पाउँदैनौं, हाम्रो लगानी उठ्दैन भनेर हात जोडेर बिन्ती गछौं, तर हृदय नभएका केही व्यक्तिले हाम्रो कुरा सुन्दैनन् । कपी राइटको कानुन पनि लगाउन सक्दैनौ । त्यसो भएपछि चित्त दुख्दो रहेछ । आम्दानी पनि नहुने, सिर्जना पनि अरूले नै चोरेर खाइदिने भएपछि आमाबाट टाढा हुनुपरेको हो, तर आमालाई कसरी बिर्सन सकिन्छ र ?
भनेपछि अब स्टेज कार्यक्रम नगर्ने ?
होइन गर्ने । भिडियो बनाउन कडिकडाउ गरेर कार्यक्रम गर्नुपर्छ । तर के गर्नु ? हाम्रा नेताहरूको रिहर्सल कहिल्यै सकिन लागेन । न संविधान बनाउँछन्, न त ठाउँ नै छाड्छन् । बडा ढिट रहेछन्, यिनीहरू त ।
विदेश पनि जान छाड्नुभयो, बुढेशकाल लागेको हो ?
विदेशमा कार्यक्रम गर्ने हो भने हामी अहिले पनि वर्षको ८ महिना बाहिरै हुन्छौं, तर समस्या त्यही हो । एउटा सहरमा कार्यक्रम गर्‍यो, अगाडि नै सिडी बनेर त्यहाँ हाम्रो कार्यक्रम छ्याप्छ्याप्ती हुन्छ । यस्तो चित्त दुख्ने काम नगरौं भनेर चुप लागेको हो । बुढेसकाल लागेको भए नेपालमा यतिका कार्यक्रम कसरी चल्थे ?
३० वर्षदेखि पत्रकारहरूको संगतमा हुनुहुन्छ । उनीहरूले सोध्ने सबैभन्दा खराब प्रश्न कुन लाग्छ ? 
धेरैजसो पत्रकारले सोध्छन्, तपाईर्ंहरू एनजीओको कार्यक्रम गरेर पैसा किन लिनुहुन्छ ? यसरी सोध्छन् मानौं एनजिओ भनेका डन हुन्, उनीहरूसँग पैसा लिनु ठूलो अपराध हो । उनीहरू अपराधी हुन् भने कानुनमा तोक्नुपर्‍यो । हामीले त काम गरेर पैसा लिने हो । त्यो गलत कसरी भयो ? 


पत्रकारहरूको चिन्ता एनजीओका कामले महको सिर्जना मर्छ भन्ने हुन सक्दैन ?
चिन्ता त्यो पनि हुन सक्छ, तर हास्यव्यङ्ग्यमा सन्देश पनि गयो भने राम्रै हुन्छ नि होइन र ? मुख बिगारेर विनासन्देश हँसाउनुभन्दा सन्देश दिँदै हँसाउनु राम्रो होइन र ? केही समयअघि हामीले तराई र पहाडका क्षेत्रमा खुला ठाउँमा दिसा बस्ने नेपाली समस्याका बारेमा कार्यक्रम बनाएका थियौं । एकाइसौं शताब्दीका नेपालीहरूलाई यसरी दिसा गर्नुपर्छ भनेर सिकाउनुपर्छ । अब महले यसरी दिसा बस भनेर सिकायो भने जनता मान्न तयार छन् अरूले भनेको मान्न तयार छैनन् । अनि के गर्ने त तपाईं नै भन्नुहोस् ।
पत्रकारले धेरै सोध्ने प्रश्नचाहिँ कुन हो ?
तपाईंहरूको भेट कहाँ भयो ? जोडी कसरी बन्यो ? इत्यादि । यो प्रश्नको उत्तर हामीले एक लाखपटक दिइसक्यौं होला । त्ौपनि त्यही प्रश्न ? म त छक्क पर्छु ।
तपाईंले सबैभन्दा धेरै झूटो उत्तर दिएको प्रश्न ?
म आफूले बोलेकामध्ये ५० प्रतिशत झूटो बोल्छु । किनभने मानिसले कहिले पार्टीमा बोलाउँछन्, कहिले कार्यक्रममा ? यस्तो बेलामा म बाहिर छु, भ्याउँदिनँ, सुटिङ छ भनेर ती कुरालाई टारिदिन्छु । पत्रकारको प्रश्नमा भने मैले त्यति धेरै झूटो बोलेजस्तो लाग्दैन ।
यो देशमा कलाकार भुवन केसी प्रधानमन्त्री भए भने तपाईंको प्रतिक्रिया के हुन्छ ?
अहिलेभन्दा राम्रो हुन्छ । किनभने भुवन केसीले त जति सिनेमा बनाए, हिट भए । उनी आफ्नो काम कति गम्भीरताका साथ गर्छन् भन्ने कुरा त दुनियाँले देखिसकेको छ । तोकिएको समयमा संविधान नबनाउने नेताहरूले प्रधानमन्त्रीको पद भुवन केसीलाई दिँदा हुन्छ।
अनि मन्त्रिमण्न्डलचाहिँ कस्तो बनाउनुपर्ला ?
प्रधानमन्त्री भुवन भएपछि मन्त्रिमण्डलमा पनि कलाकारकै भए राम्रो गाईजात्रा हुन्छ । त्यसका लागि रेखा थापालाई परराष्ट्रमन्त्री बनाउनुपर्ला । किनभने सुजाताभन्दा त रेखा नै ठीक होलिन् । रेखा भएपछि प्रचण्ड पनि मख्ख पर्ने । त्यसो भए बन्द-हड्ताल पनि नहुने । अर्थमन्त्री भने भुवनकै श्रीमती सुस्मितालाई बनाउनुपर्छ । उनी सिनेमा बनाउँदा एक-एक पैसाको हिसाब-किताब राख्छिन् रे । गृहमन्त्रीका लागि राजेन्द्र खड्की ठीक होलान् । उनी फिलिममा भिलेन भए पनि असलमा अपराधीलाई ठोक्न माहिर छन् । अँ सञ्चारमन्त्रीमा ऋषि धमलालाई राख्न्ाुपर्ला । किनभने उनले आजभोलि टेलिभिजनअघि उभिन छाडेर अभिनय गर्न थालेका छन् रे ।
मन्त्रिमन्डलमा महको मन्त्रालय कुन होला ?
हामीलाई शिक्षा सहायक मन्त्री बनाए हुन्छ । किनभने हामीले जति यो देशमा जनचेतनाको काम गरेका छौं, त्यो सायदै कुनै मन्त्रीले गरेको होला । एड्ससम्बन्धी कार्यक्रम बनाउनुपर्‍यो भने हामी संसारभरको एड्सको रिपोर्ट पढ्छौं । हामीले जति पनि कार्यक्रम बनायौं, त्यसमा लामो ठेलीका ठेली अध्ययन गरेका छौं । यी मन्त्रीभन्दा त हाम्रो पो अध्ययन बढी छ भन्ने लाग्न थालेको छ ।
आजभोलि पत्रपत्रिकामा हरिवंशको मात्र अन्तरवार्ता आउँछ, बाहुन पत्रकारहरूले मदनकृष्णलाई पाखा लगाउँदैछन् भन्ने रिपोर्ट मदनकृष्णकहाँ पुग्छ रे, के भन्नुहुन्छ ?
पहिले भोट पाउन नेताहरूले जातको बी रोपेका थिए । अहिले त्यो वनमाराजस्तै यसरी फैलिसक्यो, जसले समाज र देशलाई नै विषाक्त बनाउन थालेको छ, तर यस्तो बीउ हाम्रो बीचमा रोप्दा त्यो बीउ तुरुन्तै मर्छ । बीउ रोप्ने मानिसले उल्टै गाली खान्छ । किनभने यस्तो बीउ उम्रन अनपढ हुनुपर्‍यो । संसार नबुझेको हुनुपर्‍यो । हामी त्यति मुर्ख छैनौं ।
राजधानीलाई काठमाडौंबाट चितवन सार्ने कुरा भैरहेको छ, कस्तो लागेको छ ?
चितवनमा किन वर्षौंदेखि गैंडा मारिरहेका छन् ? किन जंगल मासिरहेका छन् भनेको त बल्ल बुझें । यही राजधानी सार्नका लागि पो रहेछ । काठमाडौंको खेती योग्य जमिन मासेर नेताहरूको रहर पुगेनछ । अब जंगली जनावर र जंगल मास्ने योजना बनेछ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेलको डिजाइन बनिरहेको छ रे, खुसी लागेको छैन ?
एउटा बल्भ बाल्न बिजुली नपुगेर लोडसेडिङ गर्नुपरिरहेको अवस्थामा बिजुलीको रेल चलाउने  रे ? कसरी चल्छ ? के ५ सय ९९ सय सभासदले ठेलेर चलाउने ?
यदि मदनकृष्ण श्रेष्ठ अथवा तपाईंमध्ये एक जना युवती हुनुभएको भए ?
हाम्रो भेट नै हुँदैनथ्यो । किनभने केटीको संगत गर्ने हाम्रो बानी छैन ।
यो मित्रता देख्दा त तपाईंहरूको विवाह नै हुन्थ्यो भन्ने लाग्छ, होइन र ?
मदनकृष्ण श्रेष्ठ मेरो दाइ हुनुहुन्छ । म युवती भएको भए पनि उहाँ मेरो दाइ नै हो । दाइ र बैनीको विवाह भएको देख्नुभएको छ ?
आफूले गरेको अभिनयमा विश्वास नलागेको क्षण छ ?
आमा टेलिश्रृंखलाकी आमाको अभिनय मैले नै गरेको हो भन्ने कुरामा म कहिलेकाहीं अविश्वास गर्छु । म ५ फिट १० इन्च अग्लो व्यक्ति कुप्री आमाको अभिनय गरेको थिएँ । त्यो यति सजीव भएछ कि मलाई नै म हो जस्तो लाग्दैन । अफगानिस्तानमा बसेका नेपालीहरूले पनि यही विषयमा चर्चा गरेका थिए ।
नेपाली नेताहरूमध्ये राम्रो कलाकार को हो जस्तो लाग्छ ?
सबै कलाकार नै हुन् । नेता त उनीहरूको नाम मात्र जोडिएको हो । केपी ओली र कृष्णप्रसाद भट्राई चाहिँ हास्यव्यङ्ग्यकार नै हुन् । उनीहरू जे बोल्छन्, त्यसमा हास्य र व्यङ्ग्य लुकेको हुन्छ ।
जीवनमा तपाईंले धेरै पाउनुभयो, ईश्वरसँग कुनै कुनासो बाँकी छ ?
ईश्वरले मलाई नेपालमा जन्म दिए । यो देशमा कति राम्रो हिमाल छ, हरियाली पहाड छ । कति राम्रो वातावरण छ । विश्वमै कतै नभएको विविधता यो सानो मुलुकमा छ । यस्तो सुन्दर देशमा एउटा गतिलो नेता नजन्माइदिएकोमा भने मलाई ईश्वरप्रति ठूलो गुनासो छ ।
प्रस्तुति ः अश्विनी कोइराला 

साप्ताहिक पत्रीकाबाट साभार

Comments :

0 comments to “ईश्वरसँग मेरो ठूलो गुनासो छ”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger